वीरगञ्ज । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले एक थान १२ बोरको १ नाले भरुवा बन्दुक बरामद गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले असोज २६ गते सोमबार दिउँसो करिब २ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. २२ स्थित बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडकखण्डको पूर्वतर्फ रहेको धानखेतबाट उक्त हतियार नियन्त्रणमा लिएको हो।
प्लास्टिकको बोरामा बेरेर लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको उक्त १२ बोर १ नाले भरुवा बन्दुक वेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

