वीरगन्ज। हिन्दुहरुको पर्व बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वको समयमा बजार तथा व्यापारिक क्षेत्रमा हुने भीडभाड, सार्वजनिक यातायातको चाप, आर्थिक कारोबार र धार्मिक गतिविधिमा हुने वृद्धिलाई ध्यानमा राख्दै जिल्भरको सुरक्षा व्यवस्था थप सुदृढ र प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरी गस्ती, निगरानी तथा सवारी साधन चेकजाँचलाई तीव्र पारिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए
सुरक्षा व्यवस्थालाई कडाइ गर्दै प्रहरीले मादक तथा मनोद्दिपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने–खेलाउने, पटाका वा आतसबाजीजन्य पदार्थ प्रयोग गर्ने, ठगी तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
कुनै पनि अवाञ्छित तथा आपराधिक गतिविधि वा शंकास्पद व्यक्ति देखिएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल कक्षको नम्बर १००, ९८५५०९०१३६ तथा ९८५५०९०३२९ मा सूचना दिई नागरिक दायित्व निर्वाह गर्न पर्सा प्रहरीले सर्वसाधारणमा हार्दिक अपिल गरेको छ।

