रुसकुम (पश्चिम) । ड्युटीमा खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीलाई हातपात तथा दुर्व्यवहार गरी कार्यसम्पादनमा बाधा पुर्याएको आरोपमा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का अनुसार असोज २० गते मुसिकोट नगरपालिका–१ खलंगा बजारस्थित कालिका मन्दिर नजिकैको सडकबाट वडाध्यक्ष विकलाई नियन्त्रणमा लिइएको हो।
अभद्र व्यवहार मुद्दाका आरोपी आफ्ना भाइ ३३ वर्षीय गोपाल विक (बरिन्द्र विक) लाई प्रहरीले पक्राउ गर्न खोज्दा ३६ वर्षीय वडाध्यक्ष केशरमान विकले प्रहरी टोलीसँग वादविवाद, अश्लील गालीगलौज र धकेलाधकेल गरेका थिए।
सोही क्रममा भाइलाई भगाएर ड्युटीका प्रहरीमाथि हातपात गर्नुका साथै कपडा समेत च्यातिदिएपछि प्रहरीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका वडाध्यक्ष विकविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय रुकुम ९पश्चिम०बाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष विक यसअघि पनि पटक–पटक विभिन्न आपराधिक र गुण्डागर्दी शैलीका घटनामा संलग्न रहँदै आएका छन्।
यसअघि उनीविरुद्ध अभद्र व्यवहार र ज्यान मार्ने उद्योग लगायतका तीनवटा मुद्दा दर्ता भई धरौटीमा छुटिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का सूचना अधिकारी प्रविन्द्र परियारले जानकारी दिए।

