वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असोज १८ गते आईतबार बिहान ५ः०९ बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ५ लाख ५२ हजार २ सय १० रुपैयाँ मूल्य बराबरको एप्पल कम्पनीका आईफोन बरामद गरेको हो।
जसमध्ये एप्पल आईफोन–१७ ३ थान र आईफोन–१५ थान–१ गरी जम्मा ४ थान मोबाइल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यसैगरी, आईतबार नै ६ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरिएको ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरको कस्मेटिक सामान र स्याउ बरामद गरेको छ।
बरामद गरिएका सम्पूर्ण मोबाइल, कस्मेटिक सामान तथा स्याउ लगायतका मालबस्तुलाई आवश्यक कानुनी कारवाहीका लागि असोज १९ गते सोमबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

