काठमाडौँ। नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल साताव्यापी औपचारिक भ्रमणका क्रममा सोमबार मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) तर्फ प्रस्थान गरेका छन् ।
बेलायती सेनाका ‘‘Chief of the General Staff’’ जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देलको यो भ्रमण आश्विन १९ गतेदेखि २५ गतेसम्म (अक्टोबर ५ देखि ११) सञ्चालन हुनेछ। भ्रमणका क्रममा उनले बेलायती सेनाका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय हित, दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्ध तथा आपसी सहयोग प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
भ्रमण पूरा गरी प्रधान सेनापति सिग्देल आश्विन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

