जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले १६१.९७ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय मुजेलिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका-१४ स्थित बाबा पेट्रोल पम्प अगाडिबाट ती युवालाई पक्राउ गरेको हो।
शनिबार अपराह्न करिब ४ः२० बजे महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२–०२–००१ प ७८८९ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकी जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ बस्ने २७ वर्षीय अरविन्द कुमार साह रहेका छन्। प्रहरीले साहको साथबाट लागुऔषध र उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको मिडिया समन्वय शाखाले जनाएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

