बीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्सा मातहतका विभिन्न युनिटहरूले जिल्लाका फरक-फरक सीमा क्षेत्रबाट १३ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान, सवारी साधन तथा बालुवा उत्खननमा संलग्न ट्रयाक्टर नियन्त्रणमा लिएका छन्।
सशस्त्र प्रहरीका अनुसार असोज १६ र १७ गते सञ्चालित विशेष गस्ती तथा चेकिङका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेका कपडा, मोटरसाइकल, स्मार्ट टिभी, हार्डवेयरका सामान, एयर कन्डिसनर (एसी) औषधि र बालुवा लोड गरिएको ट्रयाक्टर बरामद गरिएको हो।
वीरगंज महानगरपालिका–१६ इनर्वा बलिरामपुरबाट सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको २ लाख ५१ हजार ८२० रुपैयाँ बराबरको कपडा र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सोही युनिटले भन्सार मेनगेट क्षेत्रबाट १ लाख १२ हजार ८०० रुपैयाँ बराबरको स्मार्ट टिभी, टाँगा र घोडा नियन्त्रणमा लिएको छ। त्यसैगरी बोर्डर आउट पोष्ट (बिओपि) सिर्सियाको टोलीले वीरगंज–१ बोरिङ्ग सीमा इलाकाको झाडीमा लुकाइछिपाइ राखिएको १ लाख ७३ हजार ७१० रुपैयाँ बराबरको कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ।
वीरगंज महानगरपालिका–२५ खल्वा स्थित बिओपि ड्राईपोर्टको टोलीले दुई जना व्यक्तिले टाउकोमा बोकेर ल्याउँदै गरेको ४ लाख २७ हजार ३८० रुपैयाँ बराबरको मानव प्रयोगमा आउने विभिन्न औषधिहरू नियन्त्रणमा लिएको छ।
पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवा सीमा क्षेत्रबाट सीमा सुरक्षा गुल्म लहावरथकरीको टोलीले असोज १७ गते चार जनाले बोकेर ल्याउँदै गरेको ३ लाख रुपैयाँ बराबरको कपडा र सीमा सुरक्षा कार्यालय वीरगंजको टोलीले इनर्वाबाट दुई जनाले ल्याउँदै गरेको ६० हजार रुपैयाँ मूल्यको एसी नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएको छ।
यसैगरी वीरगंज महानगरपालिका–३१ स्थित भेडाहा खोलामा सुरक्षा बेस बेलवाको टोलीले गैरकानुनी रूपमा बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा ना ५ त ४८४० नम्बरको सोनालिका ट्रयाक्टर नियन्त्रणमा लिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।
बरामद गरिएका अधिकांश अवैध सामान र सवारी साधनहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
अवैध बालुवा उत्खननमा प्रयोग गरिएको ट्रयाक्टरलाई भने थप कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीले बताए ।

