वीरगन्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएका ठूला परिवर्तन र विकास निर्माणमा माओवादी नेतृत्वको योगदानलाई उद्योगी–व्यवसायीहरूले स्मरण नगरेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।
वीरगन्जका उद्योगी–व्यवसायीहरूले मुलुकको आर्थिक संकट र त्यसको समाधानको माग राख्दै बुझाएको ज्ञापनपत्र ग्रहणका क्रममा प्रचण्डले माओवादी सरकारमा छँदा भएका कामहरूको समीक्षा गर्दै वर्तमान स्थितिप्रति आश्चार्य व्यक्त गरे।
वीरगन्जमा हाल भइरहेको सडक विस्तारको प्रसङ्ग कोट्याउँदै प्रचण्डले माओवादीको सरकार भएको बेला एक–दुईवटा घर मात्रै भत्काउँदा पनि सडकमा आन्दोलन र जुलुशप्रदर्शन गरेर टायर बाल्नेहरू अहिले सरकारले जताततै भत्काउँदा पनि चुप लागेर बसेको देख्दा आफूलाई आश्चार्य लागेको बताए।
उनले सामन्ती सत्ताविरुद्ध संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र आफ्नो नेतृत्वमा देशको आर्थिक विकासका लागि ठूला आयोजनाहरू अगाडि बढाए पनि माओवादी नेतृत्वलाई जस नदिँदा देशले अहिलेको जटिल अवस्था भोग्नु परेको टिप्पणी गरे।
पूर्वप्रधानमन्त्री प्रचण्डले तत्कालिन समयमा व्यहोरेको उर्जा संकटको समाधान, निजगढ–काठमाडौँ द्रूतमार्ग र हुलाकी सडक निर्माणजस्ता ठूला परियोजनाहरू आफ्नै नेतृत्वमा सुरु भएको स्मरण गराए।
विगत ३५ वर्षमा पुराना दल र नेताहरूले देश बिगारे भन्ने भ्रमपूर्ण भाष्य सृजना गर्न खोजिएको भन्दै उनले गणतन्त्र स्थापनापछि नागरिकको औसत आयु ७० वर्ष पुगेको, गरिबी घटेको र शिक्षा तथा औद्योगिक क्षेत्रमा आमूल परिवर्तन भएको दाबी गरे।
वर्तमान सरकारको स्वेच्छाचारिताले देश जटिल स्थितिमा पुगेको र यसको सहज निकासका लागि सबै उत्पीडित वर्ग र समुदाय एकजुट हुनुपर्नेमा उनले जोड दिए।
वर्तमान सरकारले पहिलो आक्रमण भूमिहीन सुकुम्बासीमाथि गरेको र दोस्रोमा जनतामाथि करको भार थोपरेको आरोप लगाउँदै उनले पुराना प्रमुख तीन दललाई एउटै भनेर भन्नु माओवादीका लागि अन्याय हुने र नयाँ भनिएकाहरू पनि अधिकांश पुराना पार्टीबाटै दल फेरेर आएकाहरू मात्र भएको स्पष्ट पारे।

