वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्ष अमिताभ बच्चन दासले सम्पूर्ण उत्पीडित तथा मधेसी जनतालाई एकजुट हुन आह्वान गरेका छन्।
जनमत पार्टीको पर्सास्थित वीरगञ्जमा आयोजित दोस्रो महाधिवेशनको अवसरमा प्रलोपाको तर्फबाट शुभकामना मन्तव्य राख्दै नेता दासले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट हुन आह्वान गरेका हुन् ।
महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै नेता दासले सम्पूर्ण उत्पीडित र विशेषगरी मधेसी जनताले त्याग र बलिदानबाट प्राप्त गरेका अधिकारहरूको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए। बाँकी अधिकार प्राप्तिका लागि सबै पक्ष एकजुट भई निरन्तर सङ्घर्षमा होमिनुको विकल्प नरहेको उनको भनाइ थियो।
सो क्रममा अध्यक्ष दासले अग्रगामी मोर्चाको नीति तथा कार्यक्रमलाई सफल बनाउन सबै नागरिक तथा राजनीतिक शक्तिहरूलाई आ(आफ्नो ठाउँबाट पूर्ण सहयोग र योगदान पुर्याउन समेत विशेष अनुरोध गरेका छन्।

