हेटौँडा। बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोकालाई नियुक्त गरेको छ । आयोगको सदस्य पदमा सुरेन्द्रवर सिंह थापा र डा. दीपक विक्रम थापा क्षेत्रीलाई नियुक्त गरिएको छ।
नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित सपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नवनियुक्त पदाधिकारीहरूको आगमनले प्रदेशको नीति निर्माण, योजना तर्जुमा तथा विकासका प्राथमिकताहरूलाई थप प्रभावकारी, वस्तुनिष्ठ र तथ्यपरक बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
शपथ ग्रहण समारोहपश्चात् प्रदेश सरकार तथा मुख्यमन्त्री कार्यालयका तर्फबाट नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, परिणाममुखी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

