दुबई । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको उडान संख्या एफजेड १०७३ (FZ1073) मा बुधबार मध्य-आकाशमै गम्भीर सुरक्षा घटना घटेको छ।
करिब ३४ हजार फिटको उचाइमा बोइङ ७३७ म्याक्स ८ विमान उडिरहेका बेला ककपिटभित्र सह(पाइलटले मुख्य क्याप्टेनमाथि एकाएक छुरा प्रहार गरेपछि विमान दुर्घटना गराउने प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्ट अनुसार आक्रमणमा परी घाइते भएका भारतीय मूलका क्याप्टेन स्मित मच्छारले साहस देखाउँदै ककपिटको ढोका अनलक गर्न सफल भएका थिए।
त्यसलगत्तै ककपिटभित्र भइरहेको असामान्य स्थिति र विमान तीव्र गतिमा तल झर्न थालेपछि यात्रु तथा चालकदलका सदस्यहरू ककपिटभित्र प्रवेश गरी आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिएका थिए।
फ्लाइट ट्र्याकिङ तथ्यांकअनुसार घटनाको समयमा विमानले ३० सेकेन्डभित्रै करिब १४ हजार फिटभन्दा बढी उचाइ गुमाएर तीव्र गतिमा तल झरेको थियो।
ककपिट नियन्त्रण बाहिर जान थालेपछि विमानमै यात्रा गरिरहेका अतिरिक्त फ्लाइदुबई पाइलटहरू र चालकदलका अन्य सदस्यहरूले तत्काल स्थिति सम्हाल्दै विमानको नियन्त्रण हातमा लिएका थिए।
उक्त आपत्कालीन स्थिति उत्पन्न भएपछि विमानलाई साउदी अरबको तबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजीज अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडिएको थियो।
त्यहाँ विमानको सुरक्षित अवतरण गराइएको छ। अवतरणपश्चात् घाइते क्याप्टेन र सह(पाइलट दुवैलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। विमानमा सवार सबै १६० भन्दा बढी यात्रु तथा बाँकी चालकदलका सदस्य सुरक्षित रहेको पुष्टि गरिएको छ।
घाइते क्याप्टेन स्मित मच्छार सन् २०२२ देखि फ्लाइदुबईमा कार्यरत छन्। त्यसअघि उनले भारतीय विमानसेवा कम्पनी स्पाइसजेटमा करिब ११ वर्ष सेवा गरिसकेका थिए।
इजरायली अधिकारीहरूले यस घटनालाई सम्भावित आतङ्कवादी हमला वा विमान दुर्घटना गराउने गम्भीर प्रयासका रूपमा लिँदै अनुसन्धान अगाडि बढाएका छन्।
फ्लाइदुबईले घटनालाई हालसम्म इन्सिडेन्टका रूपमा दर्ता गरी सम्बन्धित निकायहरूसँग मिलेर थप छानबिन भइरहेको जनाएको छ। घटनाको मुख्य कारण र सह(पाइलटको मनसायबारे अनुसन्धान जारी छ।

