वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीस्थित कुहडी गाउँका दुई परिवारलाई नगर प्रमुख राजेशमान सिंहले शनिबार भेट गरी अवस्थाबारे जानकारी लिएका छन्।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीमा परी कुहडी गाउँका २९ वर्षीय सागर कर्ण र २८ वर्षीय मुन्ना अंसारी अझै बेपत्ता छन्।
दुवै जना ट्रक चालक हुन्। उनीहरू रसुवा भन्सारबाट सामान लिएर फर्किने तयारीमा रहेका बेला बाढीमा बेपत्ता भएको परिवारले जनाएको छ।
नगर प्रमुख सिंहले बेपत्ता परिवारका सदस्यहरूसँग भेट गर्दै घटनाको अवस्था र परिवारले भोगिरहेको पीडाबारे जानकारी लिएका हुन्।
उनले विपद्का कारण पीडामा परेका परिवारसँग महानगरपालिका साथमा रहेको बताए। यसअघि नगर प्रमुख सिंहले वीरगंज महानगरपालिका–२२ जगरनाथपुरको एउटै टोलबाट भोटेकोशी बाढीमा बेपत्ता भएका ६ जनाका परिवारसँग भेट गरी अवस्थाबारे जानकारी लिएका थिए ।
यस्तै, वडा नम्बर ८ का बेपत्ता परिवारसँग समेत उनले भेट गरेका थिए ।
बाढीमा वीरगंजका विभिन्न वडाका नागरिक बेपत्ता भएपछि महानगरपालिकाले प्रभावित परिवारसँग प्रत्यक्ष सम्पर्क र समन्वय गर्दै आवश्यक सहयोगका लागि पहल गरिरहेको छ।

