वीरगञ्ज। वीरगञ्जबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी मूल्यको गैरकानुनी रूपमा भित्र्याइएको खाद्यान्न तथा औषधि बरामद गरी भन्सार कार्यालय बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले असोज ५ गते वीरगञ्ज महानगरपालिका वडा नं। १६ स्थित इनर्वागाउँ र छप्कैयाको बाटो हुँदै भारतबाट भन्सार छली चोरी–पैठारी गरी ल्याउँदै गरेको अवस्थामा उक्त सामग्री नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा कारबाही चलाउँदै प्रहरीले २० लाख ८१ हजार २ सय २० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न किसिमका औषधिहरू फेला पारी बरामद गरेको हो।
बरामद गरिएका सबै सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

