वीरगन्ज । नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा द्विपक्षीय व्यापार सहजीकरणका विषयमा छलफल गर्दै नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
भारतको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) परिसरमा बैठक आयोजना गरिएको हो। बैठकमा सीमा क्षेत्रमा हुने चोरी–तस्करी, सीमापार आपराधिक गतिविधि नियन्त्रण, वन तथा वातावरण संरक्षण र दुई देशबीचको व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउनेबारे गहन छलफल भएको बैठकमा सहभागी नेपालका सुरक्षा अधिकारीले बताए ।
उक्त समन्वय बैठकमा नेपालका तर्फबाट पर्सा बारादेखि पूर्व नवलपुरसम्मका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा वन कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, भारतका तर्फबाट पूर्वी चम्पारण र पश्चिमी चम्पारणका डिष्ट्रिक्ट मेजेष्ट्रेट (डीएम), बिहार पुलिसका दुवै जिल्लाका प्रमुख, सशस्त्र सीमा बल (एसएसबी) का कमाण्डेट र वन कार्यालयका उच्च अधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
बैठकले दुवै देशका सुरक्षा र प्रशासनिक निकायबीच सूचना आदानप्रदानलाई तीव्रता दिँदै सीमा व्यवस्थापनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

