भैरहवा । नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बेचबिखन गर्दै आएका एक व्यक्तिलाई प्रहरीले अत्याधुनिक पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–२ बस्ने अन्दाजी ४४ वर्षीय अजय चौधरी रहेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको सादा पोसाकको टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथबाट नियन्त्रणमा लिएको हो।
चौधरीको खानतलासी गर्दा प्रहरीले ४ राउण्ड गोली लोड भएको अवस्थामा (टाइप ५४) पेस्तोल १ थान बरामद गरेको छ। साथै, उनको साथबाट एउटै फोटो टाँसिएका २ थान नक्कली ब्लुबुक र ४ वटा भारतीय आधार कार्डसमेत फेला परेको रुपन्देही प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

