काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अली अल–अन्सारीबिच आज द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्तामा कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा तथा नेपाल–कतार श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
मन्त्री यादवले नेपाली श्रमिकको सीप विकास, सीपअनुसारको रोजगारी र पारदर्शी तथा श्रमिकमैत्री भर्ती प्रक्रियाका लागि सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।
त्यसै गरी, मन्त्री यादवले हालै नेपालले भोगेको विपद्को समयमा कतार सरकारले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरे । साथै, विपद्पछिको पुनर्निर्माण तथा पुनः स्थापनाका क्रममा रोजगारी सिर्जना, सीप विकास, तालिम तथा प्रभावित युवालाई श्रम बजारसँग जोड्ने कार्यक्रमहरूमा कतार सरकारको थप सहकार्यका लागि अनुरोध गरे ।
भेटवार्तामा विद्यमान द्विपक्षीय श्रम समझदारीलाई समयानुकूल व्यवस्थित गरी सीप विकास, तालिम र दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा आपसी सहकार्य र समन्वयलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको छ।

