वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकामा कर्मचारी भर्ना सम्बन्धी विवाद सतहमा आएको छ। कार्यपालिकाले गरेको आधिकारिक निर्णयलाई लत्याउँदै कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु गरिएपछि गाउँपालिकाभित्र तनाव सिर्जना भएको हो।
प्राप्त सूचना अनुसार कार्यपालिकाबाट पारित निर्णयलाई आधिकारिक रूपमा हस्तान्तरण गरी कार्यान्वयनमा लैजानुपर्नेमा सो प्रक्रिया नपु¥याई सिधै सर्भेक्षक र अमिन पदमा विज्ञापन आह्वान गरिएको थियो।
खुला विज्ञापन मार्फत लिखित परीक्षा सञ्चालन भई नतिजा समेत प्रकाशन भइसकेको अवस्थामा अन्तर्वार्ताको चरणमा पुगेर विवाद चर्किएको छ।
गाउँपालिका अध्यक्ष सुरेश मेहताले आफ्नो मान्छे नपर्ने देखेपछि एकल अधिकार र शक्तिको दुरुपयोग गर्दै नियमानुसार हुनुपर्ने कार्यपालिकाको निर्णयलाई बेवास्ता गरेर अन्तवार्ता नै रोकेको आरोप स्थानीय तथा जनप्रतिनिधिहरूले लगाएका छन्।
आफूखुसी र मनपरी ढंगले आफ्ना मान्छेहरूलाई स्थान दिनकै लागि विज्ञापन प्रक्रिया अघि बढाइएको भन्दै अध्यक्षको चौतर्फी विरोध भइरहेको छ।
कार्यपालिकाको स्पष्ट निर्णय र स्वीकृति बिना गरिएको यो भर्ना प्रक्रियाका कारण गाउँपालिकाका अन्य सेवा, विकास निर्माण तथा कार्यपालिकीय समन्वयका कार्यक्रमहरू समेत प्रभावित बन्न पुगेका छन्।
एकातिर लिखित परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीहरू अन्योलमा परेका छन् भने अर्कोतिर अध्यक्षको यो निर्णयले स्थानीय निकायभित्र शक्ति सन्तुलन र कानुनको पालनामाथि गम्भीर प्रश्न उठाएको छ।
उक्त विषयमा गाउँसभा तथा कार्यपालिका सदस्यहरूले आपत्ति जनाउँदै प्रक्रिया तत्काल रद्द गरी पारदर्शी रूपमा अघि बढाउन माग गरेका छन्।
तर यसबारे गाउँपालिकाका अध्यक्ष सुरेश मेहेताले भने प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले आफूसँग कुनै सल्लाह नै नगरी कर्मचारी भर्नाको विज्ञापन गरेकोले त्यसलाई अहिले रोकेको बताए।
उनले आफू कार्यक्रममा बाहिर गएको बेला प्रमुख प्रशासकीय अधिकृत साहले विज्ञापन प्रकाशित गरेर लिखित परीक्षा समेत लिईसकेको र उनको सरुवा भएपछि त्यसलाई तत्काल रोकेर नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्रै भर्ना लिने गरी रोकेको बताए ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि प्रकृया पुनःअगाडि बढ्ने बताए । अध्यक्ष मेहेताको कार्यकालमा हरेक विज्ञापन विवादित बनेको स्थानीयको भनाई छ । उनले आफ्नो स्वार्थ अनुकूल नभएपछि पदको दुरुपयोग गर्दै एकल अधिकार प्रयोग गर्ने गरेको स्थानीय बताउछन् ।

