वीरगंज। नेपाल नागरिक फाउन्डेसन पर्साको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका वडा नं.११, श्रीपुरमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
फाउन्डेसनका अध्यक्ष सुरज महतो धानुकको सभापतित्व एवं नेता सुन्दर कुर्मीको प्रमुख आतिथ्यमा आयोजित उक्त शिविरमा स्थानीय जेष्ठ नागरिक, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न समुदायका नागरिकहरूले स्वास्थ्य सेवा लिएका छन्।
स्थानीय बासिन्दालाई आफ्नै वडामा सहज स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यले अस्पतालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष धानुकले बताए।
मोतियाबिन्दु देखिएका बिरामीहरूका लागि आगामी दिनमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइने प्रतिबद्धता समेत उनले जनाएका छन्। वीरगन्ज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीको नेतृत्वमा खटिएको प्राविधिक टोलीले बिरामीहरूको आँखा परीक्षण गरेको थियो।
टोलीमा रहेका स्वास्थ्यकर्मीहरू राजेश चौधरी, श्रुती चौधरी र ओमप्रकाश दास थारू लगायतले आँखा परीक्षणको प्राविधिक सहयोग गरेका थिए ।
शिविरमा परीक्षण गराएका कुल ८५ जनामध्ये २५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको मेडिकल संयोजक धामीले जानकारी दिए। समस्या देखिएका बिरामीहरूलाई थप परामर्श र उपचारका लागि आगामी शनिबार सम्बन्धित अस्पतालमा सम्पर्क गर्न चिकित्सकहरूले आग्रह गरेका छन्।
उक्त कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष अजय चौरसिया, पूर्व वडाध्यक्ष प्रदुमन सेढाई, संस्थाका सचिव रामप्रीत महतो धानुक, कोषाध्यक्ष ज्ञानेन्द्र महतो धानुक, सदस्य राजकुमार महतो धानुक, राम शाहलगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

