भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा नेपाल आयल निगमको ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार निगमको ट्याङ्करबाट सिल तोडेर अवैध रूपमा डिजेल निकालिरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले घटनास्थलबाटै करिब ३० लिटर डिजेल र दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको थियो।
प्रहरीलाई देखेपछि घटनास्थलबाट अर्को एक ट्याङ्कर भागेर फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको छ।
सिल तोडेर इन्धन चोरी भइरहेको भेटिएपछि नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

