रामेछाप । रामेछापमा नसालु पदार्थ सेवन गराई गहना चोरी गर्ने र चोरीको गहना खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै मन्थली नगरपालिका–६ कुनौरीकी ५४ वर्षीया विभा माझीलाई बेहोस बनाएर सुनको गहना चोरी गर्ने र सो गहना खरिद गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो।
गत भदौ २४ गते दिउँसो माझीलाई एक अपरिचित महिलाले नसालु पदार्थ खुवाई बेहोस बनाएकी थिइन्। त्यसपछि ती महिलाले माझीको कानमा रहेको सक्कली सुनको बेरुवा रिङ निकालेर नक्कली गहना लगाइदिई फरार भएकी थिइन्।
घटनाको सूचना पाएलगत्तै प्रहरीले शंकास्पद स्थानका सीसीटीभी फुटेज छानबिन गरी संलग्नहरूको पहिचान गरेको थियो। अनुसन्धानका क्रममा मन्थली नगरपालिका–१ स्थित न्यू सनराईज ज्वलर्सका सञ्चालक ३६ वर्षीय सीताराम लोहार र गोकुलगंगा गाउँपालिका–२ दोर्जेकी ५३ वर्षीया मैया कार्कीलाई पक्राउ गरिएको हो।
लोहारको पसलबाट पीडितको १४ लाल १ प्वाइन्ट तौल भएको दुई थान सुनको रिङ बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, कार्कीको घरबाट पहेँलो धातुको बेरुवा रिङ, औँठी, फुली, चार थान किप्याड मोबाइल, रु. ७ हजार ३ सय नगद र चोरी गर्दा प्रयोग गरिएका कपडाहरू बरामद भएका छन्।
पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमल राउतले जानकारी दिएका छन्।

