काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा सङ्कलित उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ जम्मा रहेको छ।
यसैगरी, वैदेशिक सहायता तथा योगदानस्वरूप दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रहरूमा तत्काल राहत, उद्धार तथा संकट व्यवस्थापनका कार्यलाई तीव्र बनाउन कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको खातामा निकासा गरिसकिएको छ।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा भत्किएका भौतिक पूर्वाधारको पुनर्निर्माण र विस्थापित नागरिकहरूको दिगो पुनर्स्थापनाका लागि बजेट तथा स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन ।

