काठमाडौं । झूट्ठा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई विशेष अदालतले सफाइ दिएको छ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा न्यायाधीशद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार मेयर सिंहसहित सबै प्रतिवादीहरूलाई सफाइ दिने फैसला सुनाएको हो।
अर्कैकी छोरीलाई आफ्नो भनी नागरिकता दिलाएको आरोपमा गत २५ जेठमा मेयर सिंह, सिन्धुपाल्चोककी रिता भट्टराई, तत्कालीन वडा सचिव र कार्यवाहक वडाध्यक्षका साथै गृह मन्त्रालयका छानबिन समितिका पदाधिकारीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
विशेष अदालतबाट सफाइ पाएपछि सिंहको निलम्बित मेयर पद पनि फुकुवा भएको छ । मेयर सिंहले सफाई पाएपछि वीरगन्जवासीमा खुशीयाली छाएको छ । सामाजिक सञ्जालमा उनले न्याय पाएको र न्याय अझै मरेको छैन भन्दै मेयर सिंहलाई बधाई दिएका छन् ।
मेयर सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा दस्तखत किर्ते र झुटो विवरण पेस गरी नागरिकता बनाएको कसूरमा २ वटा मुद्दा भने अझै विचाराधीन रहेका छन्।

