काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
पौडेलले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरी काठको लगत समर्थन र लिलाम सहमतिको सिफारिस रोकेर सेवाग्राहीलाई दुःख हैरानी दिँदै आएका थिए।
बदनियतपूर्ण तवरले रु. १५ हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु. १५ हजार बिगो कायम गरी मुद्दा दर्ता गराएको हो।
पौडेललाई बिगो बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

