काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजना, सडक पूर्वाधार र जनजीवनमा गम्भीर आर्थिक तथा भौतिक क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले स्थिति प्रतिवेदन जारी गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङ जिल्लाका १५ वटा स्थानीय तहलाई कुल १६ करोड रुपैयाँ रकम उपलब्ध गराइएको जनाएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाहरूमा ठूलो असर पर्नुका साथै भौतिक पूर्वाधार ध्वस्त हुँदा ठूलो वित्तीय भार थपिएको छ। बाढीले रसुवागढी (१२० मे.वा.), लाङटाङ (२० मे.वा.), चिलिमे (२२ मे.वा.), माथिल्लो त्रिशूली-१ (२१६ मे.वा.), मैलुङ खोला (५ मे.वा.), त्रिशूली ३ ‘ए’ (६० मे.वा.) र त्रिशूली ३ ‘बी’ (३७ मे.वा.) जस्ता ठूला जलविद्युत् आयोजनाहरूको सुरुङ्ग तथा पूर्वाधारमा क्षति पु-र्याएको छ।
सुरुङ्गहरू लेदो र ढुङ्गाले थुनिएकाले आयोजनाहरूको निर्माण तथा विद्युत् उत्पादन प्रभावित भएको छ। यसैगरी, मुख्य व्यापारिक तथा यातायात मार्ग मानिने पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु खण्डको कृष्णभिरमा सडक कटान (toe cutting) हुनुका साथै गल्छी-देवीघाट-त्रिशूली र विदुर-बेत्रावती सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
देवीघाटस्थित ५५ मिटरको तादी नदीको पुल बगेकाले यातायात र सामान ढुवानीमा सास्ती भएको छ, जसलाई सुचारु गर्न बेलीब्रिज जडानको काम अघि बढाइएको छ।

