
कुनै समय
यी धर्तीका चिराहरूमा हलो चलाउँदा
धरती मुस्कुराउँथी —
माटोका डल्लाहरूमा पसिना पोखिँदा
हाम्रा हाँसोहरूमा सुन भिज्थ्यो,
बालीहरू दानामा झर्छन् भनेर
हाम्रो भविष्य टाँसिएको थियो
यसै माटोसँग, यसै पानीसँग।
तर आज !!
माटो छ, हलो छैन
हल छ, हात छैन
हात छ, सपना छैन
सपना छ, तर
राज्यको आँखा छैन —
माटो सुक्दै छ, बाली झर्दै छैन।
जुन खेत कहिल्यै बोल्दैनथ्यो,
त्यसको मौनता आज प्रश्न बनेर उभिन्छ —
किन मेरै काख छाडेर
मान्छेहरू शहर पसेरु
किन पसिनाको गन्धलाई
मलको गन्धले छोप्यो ?
किन सिँचाइका सपना
कागजमै सुक्दै गए ?
किन बीउहरू छोडेर
विदेशका भोकहरूतिर बीउ छरियोरु ?
यो खेत,
जसले वर्षौंदेखि घामसँग सहमेल गर्यो
पानीसँग सम्झौता गर्यो
हावासँग कुरा गर्यो —
आज उही खेत
आँशु भर्ने फेहरिस्तमा छ।
धर्ती चिच्याउँछे —
“हेर ! म अझै उर्वर छु
मलाई मल होइन
मलाई माया चाहियो।
मलाई सिँचाइ होइन
मलाई सिँगार्ने हात चाहियो।
मलाई घोषणाहरू होइनन्
मलाई सहारा चाहियो —
सस्तो ऋण होइन
सस्तो हाँसो चाहियो,
युवाहरूको फर्किने सपना चाहियो।”
माटो भन्छ —
“राज्य ! तिमीलाई सम्झाउन
कति समय लाग्ने होरु
मेरो काख भिजाउनु छ भने
तिमीले सम्झनुपर्छ —
मेरो हरियाली नै तिमीलाई पाल्ने धरोहर हो।
मेरो बाली नै तिमीलाई बाँचेको इतिहास हो।”
ओ बाँझो खेत !
म तिमीलाई वचन दिन्नँ
तर एक दिन, पक्कै पनि
यो माटोमा फेरि गीत गुञ्जिनेछ,
हलोसँगै पसिना पोखिनेछ,
बीउहरू गर्जिनेछन् —
माटोले फेरि मान्छेहरूलाई
गाउँ फर्काउनेछ।
त्यो दिन आउँदा
राज्य पनि सम्झिनेछ —
खेतको मौनताभन्दा ठूलो
अरू कुनै आवाज हुँदैन भनेर।
त्यो मौनता भित्र
गाउँको जीवन बाँचेको छ,
देशको मेरूदण्ड रोपिएको छ —
त्यसलाई सम्झेर मात्रै
माटो हरियालो हुनेछ,
मान्छे बाँचेको छ भन्ने गर्व हुनेछ।
कहिले हो कहाँ,
हलोको फलाम चिरेको थियो ढुङ्गा,
बुवाको निधारमा पसिना टल्केको थियो,
माटोले प्रेम गर्थ्यो,
र अन्न हुर्कन्थ्यो,
गाउँका गीतहरूमा माटो गन्थ्यो,
कृषि जीवन थियो।
तर आज ?
कागजका योजनाहरूमा हराइरहेछ खेत,
एउटा अनुदान झरेछ – त्यो पनि शहर झरेछ।
हल गुमेको छ, ट्रयाक्टर ‘फोटो सेसन’मा सीमित।
राज्यको आँखामा,
माटो छैन – खानी छन्।
गहुँ छैन – टेण्डर छन्।
सिंचाइ छैन – ‘स्मार्ट एग्रो’का स्लाइड छन्।
कृषिलाई राज्यले भन्छ – बिर्सी।
किनकि अब विकास भन्नाले
‘मोबाइल एप’ हो,
जहाँ किसानको नाम छैन।
अब नीति भन्नाले
‘पावरपइन्ट’ हो,
जहाँ मल छैन, मोल छैन,
र किसानको तौल छैन।
तँलाई थाहा छ ?
कृषकले भगवान भन्थ्यो – आकाश हेरेर।
अब किसान टाउको हल्लाउँछ –
भन्छ, “भगवान हराए राज्यसँगै।”
जसको कोदालीले जग बसालेको देश,
त्यहीँ कोदाली सस्तो र किसान महँगो भयो।
राज्यका मन्त्रीहरू जब भन्छन्,
‘हामी कृषिमा क्रान्ति ल्याउँछौँ ?
त्यसको अर्थ हुन्छ –
काठको डब्बामा राखिने मल
विदेशी जातका बीउ
ढिलो आइपुग्ने वर्षा पूर्वानुमान
र बाढीले बगाएको आश्वासन।
ओ माटो !
कति रोकिने ?
तँ रोएर पनि हरियो उमार्छस्,
तर तेरो आँसुमा लेखिएको छ –
‘राज्य मप्रति अन्धो छ।’
राज्यलाई लाग्दैन
माटो बोल्छ,
बीउ सुनिन्छ,
र हलोको टक्क आवाज
इतिहासको गर्जन हो।
अब त खेतहरू
‘प्लट’मा बदलिँदै छन्,
कृषकहरू
श्रमिकमा झरिरहेछन्,
छोराहरू कतार र दुबई छन्,
बुबाहरू खेतलाई हेर्छन् –
जस्तो पुरानो प्रेमपत्र जोगाइरहेका छन्।
शब्द चिर्दै भन्ने मन लाग्छ –
“राज्य१ एक दिन तिमी भोकै बस्नेछौ,
जब हावाबाट भात पाक्दैन,
र डिजिटल धानले पेट भरिन्न।”
तसर्थ, लेखिदेऊ इतिहासमा –
“यस मुलुकमा माटोले राष्ट्र बनायो,
तर राज्यले माटोलाई चिनेन।”
कृषिलाई राज्यले भन्छ – बिर्सी।
तर माटो भन्छ –
“मैले तिमीलाई कहिल्यै बिर्सेको छैन।”
तर यहाँ !!!
कृषि क्रान्ति भन्दै आउँछन्, नेता र भाषण,
गाउँ बस्तीभरि सुनिन्छ, सपना र परिश्रम।
तर खेतमा बालीनाली झर्छन् आँसुका धारा,
किसानका हातमा रहन्छन्, सपना मात्र सारा।
बिउ, मल, पानीको अभाव, हरेक मोडमा छ,
तर क्रान्तिको गीत गाइन्छ, भाषणको घोडामा छ।
गरे पनि मेहेनत, फल पाइँदैन अन्नको,
कहाँ छ क्रान्तिरु यो त केवल कुरा हो कागजको।
सुविधा दिने भन्दै ठगिन्छन् किसानका मन,
ब्याजको भारले किचिन्छ, जिन्दगीका रङ।
को हो कृषिको सेवक, को हो देशको हितैषीरु
तितो सत्य हो, यहाँ सबै आफ्नै लाभको खोजी।
कृषि क्रान्ति हैन, भ्रान्ती मात्र छ यहाँ,
दुखी किसानको कथा सुन, सत्यता छ त्यहाँ।
उठ, किसान, तिम्रो हकका लागि बोल,
झूटका घेराबाट मुक्त गर आफ्नो गाउँ, टोल।
सुवेदी बाराको प्रसौनी स्थित पतञ्जली नेपाल उद्योगका महाप्रबन्धक हुन् ।

