धादिङ । बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी चोरी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद सेफ फेला पारी त्यसलाई अवैध रूपमा तोडफोड गरी रकम चोरी गर्ने २९ जना स्थानीयवासीलाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको थियो।
प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको जनाएको छ। गएको भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण बहँदै आएको पैसा राख्ने सेफ धादिङको गल्छी गाउँपालिका वडा नं.– ४ स्थित बेल्खुखोला त्रिशूली नदीको किनारमा अड्किएको थियो।
उक्त सेफ देखेपछि स्थानीय मानिसहरूले गैरकानुनी रूपमा फुटाएर भित्र रहेको रकम आपसमा बाँडेर चोरी गरेको भन्ने खबर प्रहरीलाई प्राप्त भएको थियो।
प्राप्त सूचनाका आधारमा भदौ १२ गते खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घटनामा संलग्न रहेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका–४ मासटार तथा बानेका पवन पौडेल, वीरबहादुर राना मगर, विनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, सिमबहादुर राना मगर, युवराज अधिकारी, सुचिमबहादुर राना मगर, सविन श्रेष्ठ, प्रेमबहादुर राना मगर, अनिल भेटुवाल र वडा नं. ६ आमघाटका गुसान्त श्रेष्ठ लगायत रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग रहेको रकमको आधिकारिक स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूबारे थप अनुसन्धान अघि बढाएको छ।
बरामद रकमसहित पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको धादिङ प्रहरीले जनाएको छ।

