काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेको शवको संख्या ६२६ पुगेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको खोज, उद्धार तथा राहतको पछिल्लो तथ्याङ्क अनुसार मानवीय क्षति र बेपत्ताको अवस्था विभिन्न स्थानबाट हालसम्म ६२६ जनाको शव फेला परेको हो।
चितवनबाट सबैभन्दा बढी २३३ जना, नवलपरासी पूर्वबाट १२८, नुवाकोटबाट ५१, गोर्खाबाट ४८, नवलपरासी पश्चिमबाट ४७ र रसुवाबाट १३ जनाको शव बरामद गरिएको छ। हालसम्म २ हजार ४२६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन्।
बेपत्ता हुनेहरूमा सुरक्षा निकायका तर्फबाट नेपाल प्रहरीका २७, नेपाल सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्। यसैगरी भन्सार कार्यालयका १५ जना र अध्यागमनका ४ जना कर्मचारी पनि सम्पर्कविहीन छन्।
अन्य बेपत्तामा रसुवाका ५६२ जना, नुवाकोटका ११५ जना, जलविद्युत् आयोजनाहरूका १३३ जना, २१७ जना विदेशी नागरिक तथा घुम्न आएका र विदेशमा बस्ने १२७ जना नेपाली नागरिक रहेका छन्।
उद्धार, उपचार र भौतिक क्षतिविपद्पछि हालसम्म ४,५१६ जनाको जीवितै उद्धार गरिएको छ, जसमध्ये १२९ जना विदेशी नागरिक रहेका छन्।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरमार्फत ९९ पटक हवाई उडान भरिएको छ।अस्पतालहरूमा १०१ जना घाइतेको उपचार भइरहेको छ भने क्षेत्रमा सर्जिकल तथा मेडिकल टोलीहरू खटाइएको छ।
खोज तथा उद्धार कार्यमा कुल १५ हजार २२४ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। क्षतिको कुरा गर्दा प्रभावित क्षेत्रका १९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १४२ वटा पुनः सञ्चालनमा आइसकेका छन्।
राहत वितरणतर्फ नेपाल सरकारका तर्फबाट रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ तथा अन्य प्रभावित क्षेत्रमा ३० लाख रुपैयाँ गरी कुल २ करोड ३० लाख रुपैयाँ नगद निकासा गरिएको छ।
प्रभावित स्थलहरूमा हेलिकप्टरमार्फत राहत सामग्री र इन्धन नुवाकोटमा ९ हजार लिटर हवाई इन्धनसहित पुयाउने काम भइरहेको जनाएको छ।

