जनकपुरधाम । भोटेकोसी नदीमा आएको भिषण बाढीका कारण पुगेको जनधनको व्यापक क्षतिप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
भदौ १० गते बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले विपद्को यस घडीमा उद्धार तथा राहत कार्यका लागि ठोस निर्णय गर्दै मुख्यमन्त्री, मन्त्रीहरू लगायत प्रदेशका सम्पूर्ण पदाधिकारी र कर्मचारीहरूको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको हो।
बैठकले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
त्यसैगरी, विपद् प्रभावित क्षेत्रका नागरिकहरूको खोज, उद्धार र राहत कार्यमा आ-आफ्नो ठाउँबाट पूर्ण सहयोग पुर्याउन मधेश प्रदेश सरकारले आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई हार्दिक अपिल गरेको छ।

