वीरगन्ज। वीरगन्जको नारायणी अस्पतालको कार्डियोलोजी (हृदयरोग) विभागले औपचारिक रूपमा क्याथल्याब सेवा सञ्चालनमा ल्याएको छ।
क्याथल्याब सेवा सञ्चालनमा ल्याएसँगै मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको अस्पतालले जनाएको छ ।
सेवा सुरुआतकै क्रममा अस्पतालको मुटुरोग विशेषज्ञ टोलीले कोरोनरी एन्जियोग्राफी र सिनेफ्लुरोस्कोपी सफलतापूर्वक सम्पन्न गरेको छ।
नारायणी अस्पतालका चिकित्सक टोलीका अनुसार क्याथल्याब सेवा सञ्चालनमा आउनु मधेस प्रदेशका नागरिकका लागि गुणस्तरीय, पहुँचयोग्य र आधुनिक मुटुरोग उपचारमा कोशेढुङ्गा साबित भएको छ।
यसअघि यस्ता जटिल जाँच तथा उपचारका लागि राजधानी वा विदेश जानुपर्ने बाध्यता रहेकामा अब स्थानीय स्तरमै उच्चस्तरीय सेवा उपलब्ध हुने भएको छ।
क्याथल्याब सेवाको विस्तारसँगै मुटुको रक्तनली ब्लकेज जाँच एन्जियोग्राफी मात्र नभई आगामी दिनमा एन्जियोप्लास्टी प्राइमरी एन्जियोप्लास्टी तथा स्टेन्टिङ र पेसमेकर राख्ने जस्ता जटिल तथा आपत्कालीन मुटुरोग उपचार सेवाहरू समेत नियमित रूपमा सञ्चालन गरिने कार्डियोलोजी विभागले जनाएको छ।

