वीरगन्ज। भन्सार विभागले व्यावहारिक र वस्तुनिष्ठ लक्ष्य तोक्न थालेसँगै देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली र प्रगति दरमा निरन्तर सुधार आएको छ।
विगत तीन आर्थिक वर्षको साउन महिनाको तथ्यांक अनुसार लक्ष्य घटाइँदा वास्तविक संकलन र लक्ष्य प्राप्तिको प्रतिशत दुवै सकारात्मक बनेका छन्।
चालू आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा विभागले २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो। उक्त अवधिमा १८ अर्ब ७७ करोड ७७ लाख ४२ हजार रुपैयाँ असुली भई लक्ष्यको ९१.२४ प्रतिशत प्रगति हासिल भएको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ को साउनमा २१ अर्ब ५० करोड १८ लाख ८५ हजार रुपैयाँको उच्च लक्ष्य राखिँदा १५ अर्ब ९१ करोड ५४ लाख ६९ हजार रुपैयाँ (७२.११ प्रतिशत) मात्र संकलन भएको थियो।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा लक्ष्य घटाएर २० अर्ब ९८ करोड २१ लाख ६६ हजार रुपैयाँ कायम गरिएपछि १८ अर्ब ४३ करोड ६१ लाख २२ हजार रुपैयाँ राजस्व उठेर प्रगति दर ८७.९० प्रतिशत पुगेको थियो।
तीन वर्षको साउन महिनाको तथ्यांक विश्लेषण गर्दा विभागले मासिक लक्ष्यमा करिब ४.३ प्रतिशतले कटौती गरेको छ भने वास्तविक राजस्व संकलन १५ अर्ब ९१ करोडबाट बढेर १८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यसले समग्र राजस्व संकलनमा १७.९ प्रतिशतको वृद्धि दर्शाउँछ।
कार्यालयका अनुसार कुल असुलीमा मुख्य २० वटा वस्तुको योगदान प्रमुख रहेको छ। जसमा पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ भने दोस्रो स्थानमा सवारी साधन तथा तिनका पार्टपूर्जा परेका छन्।
पेट्रोलियम पदार्थ आयातबाट आव २०८१/८२ मा ८० अर्ब ९३ करोड र आव २०८२/८३ मा ८० अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
त्यसैगरी सवारी साधनबाट आव २०८१/८२ मा २१ अर्ब ३८ करोड र आव २०८२/८३ मा २५ अर्ब ८८ करोड रुपैयाँ असुली भएको छ। फलाम तथा फलामजन्य सामग्री, मेशिनरी पार्टपूर्जा, कपडा, इलेक्ट्रिक मेशिन, मदिराजन्य पेय पदार्थ र प्लाष्टिकका कच्चा पदार्थ राजस्वमा योगदान दिने अन्य प्रमुख वस्तु हुन्।
भन्सार नाकामा मालवस्तु आयातको प्रवाह बढेकाले चालू आवको पहिलो महिनामै राजस्व संकलनमा सुधारको संकेत देखिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए।
सुरुवाती वर्षहरूमा महत्वाकांक्षी लक्ष्यका कारण प्रगति कमजोर देखिए पनि पछिल्लो समय वस्तुनिष्ठ लक्ष्य र व्यापारमा आएको क्रमिक सुधारले कार्यालयलाई लक्ष्यको नजिक पुर्याएको उनको भनाइ छ।

