जनकपुरधाम। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारी साधन हस्तान्तरण गरेको छ।
नेपाल प्रहरीको कार्यक्षमता अभिवृद्धि तथा प्रदेशमा शान्ति–सुरक्षा सुदृढीकरणका लागि गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सवारी साधनहरू नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सवारी साधनमध्ये मधेश प्रदेशका आठवटै जिल्लाका लागि एक-एक वटा उपलब्ध गराइएको छ। यसैगरी सर्लाहीका गोडैता इलाका प्रहरी कार्यालय र गडहिया इलाका प्रहरी कार्यालयलाई एकरएक वटा तथा रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयलाई एक–एक वटा पिकअप हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।
सवारी साधन हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानून मन्त्री महतोले नेपाल प्रहरीलाई भौतिक संरचना, सवारी साधन तथा आवश्यक स्रोत(साधन उपलब्ध गराउने काम मन्त्रालयले विगतदेखि नै गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
प्रहरीको क्षमता तथा मनोबल अभिवृद्धिका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले हाल प्रहरीसँग सम्बन्धित १२ वटा बहुवर्षीय योजनाहरू मन्त्रालयबाट सञ्चालन भइरहेको जानकारी दिए ।
मन्त्री महतोले हस्तान्तरण गरिएका सवारी साधनहरू अपराध नियन्त्रण, नियमित गस्ती, आकस्मिक परिचालन तथा नागरिकको सुरक्षामा अधिकतम सदुपयोग गर्न सम्बन्धित प्रहरी कार्यालयहरूलाई निर्देशन दिए ।
साथै, सुरक्षा व्यवस्थापनका विषयमा मन्त्रालयसँग आवश्यक समन्वय तथा सहयोगका लागि आफू र मन्त्रालय जुनसुकै समयमा पनि तत्पर रहेको स्पष्ट पार्दै आठवटै जिल्लाका प्रहरी प्रमुखहरूलाई प्रभावकारी समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न आग्रह गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक, मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी प्रमुख, सञ्चारकर्मी तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

