वीरगन्ज । नसर्ने रोगबाट हुने मृत्युदरको डरलाग्दो तथ्याङ्क बाहिर आएको छ। अन्य रोगहरूको तुलनामा नसर्ने रोगका कारण मृत्यु हुने दर अत्यधिक बढी रहेको तथ्याङ्कले देखाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले एक कार्यक्रममा प्रस्तुत गरेको विवरण अनुसार मुख्य रूपमा चारवटा नसर्ने रोगको अवस्था विकराल बन्दै गएको छ र तिनै रोगबाट हुने मृत्युदर तीव्र रूपमा बढ्दो क्रममा छ।
जनस्वास्थ्य अधिकृत सिंहका अनुसार सन् २०१९ को सर्वेक्षणमा २४.५ प्रतिशत व्यक्ति उच्च रक्तचापबाट, २४.३ प्रतिशत उच्च तौल भएका, ११ प्रतिशत उच्च कोलेस्ट्रोल र ५.८१ प्रतिशत मानिस उच्च ब्लड ग्लुकोज अर्थात् मधुमेहका कारण जोखिममा रहेको र यिनै कारणले मृत्युदर उच्च देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हुने कुल मृत्युमध्ये सबैभन्दा बढी मुटु रोगको हिस्सा १२ प्रतिशत रहेको छ। विश्वव्यापी रूपमा सर्ने रोगको नियन्त्रणमा सुधार भइरहे तापनि नसर्ने रोगको प्रकोप भने तीव्र गतिमा बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रतिवेदन अनुसार नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत कारण नसर्ने रोगहरू रहेका छन्।
नेपालमा कुल मृत्युको ७१ प्रतिशत अर्थात् १० जनामध्ये ७ भन्दा बढीको मृत्यु मुटुरोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वासका कारण हुने गरेको छ। विश्वभर भने कुल मृत्युको ७५ प्रतिशत अर्थात् वार्षिक करिब ४ करोड ३० लाख मानिसको मृत्यु हृदयघात, स्ट्रोक, क्यान्सर र मधुमेह जस्ता नसर्ने रोगबाट भइरहेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार ३० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरूमा हुने अकाल मृत्यु मुख्य चिन्ताको विषय बनेको छ। नेपालमा यस उमेर समूहका करिब २० देखि २२ प्रतिशत मानिसहरू नसर्ने रोगका कारण अकाल मृत्युको जोखिममा छन्।
सन् १९९० मा नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर ३० प्रतिशत मात्र रहेकोमा सन् २०१० मा ५१ प्रतिशत र हाल ७१ प्रतिशत पुगेको छ। जीवनशैली, खानपान र वातावरणीय कारकहरूमा सुधार नगरिए सन् २०४० सम्म यो दर बढेर ७९ प्रतिशत पुग्ने डब्लुएचओको प्रक्षेपण छ। विश्वभर हुने नसर्ने रोगका अकाल मृत्युमध्ये ८२ प्रतिशत न्यून तथा मध्य-आम्दानी भएका देशहरूमा हुने गरेको छ।
सरकारले नसर्ने रोगबाट हुने मृत्युदर घटाउन प्राथमिक स्वास्थ्य सेवा तहमा पेन प्याकेज (Package of Essential NCD Interventions) र अस्पताल तहमा पेन-प्लस (PEN-Plus) रणनीति कार्यान्वयनमा ल्याएको छ। पेन प्याकेज अन्तर्गत स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मुटुरोग, मधुमेह, श्वासप्रश्वास र क्यान्सरको प्रारम्भिक जाँच, सुगर-ब्लडप्रेसर परीक्षण, जीवनशैली परामर्श र आधारभूत औषधि निःशुल्क उपलब्ध गराइन्छ।
जिल्ला तथा प्रादेशिक अस्पतालहरूमा लागू गरिएको पेन-प्लस रणनीतिले टाइप १ मधुमेह, बाथरोग, सिकलसेल एनिमिया र जटिल मुटुरोगको उपचार तथा व्यवस्थापन गरी सर्वसाधारणलाई महँगो खर्चबाट जोगाउने लक्ष्य राखेको छ। साथै, स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगको स्क्रिनिङ, प्रोटोकल अनुसार औषधि सिफारिस र बिरामी प्रेषण सम्बन्धी तालिम समेत निरन्तर दिइँदै आएको छ।

