जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण प्रदेशवासीलाई आग्रह गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको वर्तमान शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्दै सम्पूर्ण पक्षसँग संयमता र सहकार्यका लागि अपिल गरेको हो।
बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वसाधारणको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण एवं कानुनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्ने निर्णय गरेको छ।
सुरक्षा निकाय, स्थानीय तह तथा सम्बद्ध निकायहरूसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौतीहरूको समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
साथै, प्रदेशमा भइरहेका पछिल्ला घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
धार्मिक, सांस्कृतिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारमाध्यम तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट, भ्रामक र अशान्ति फैलाउने खालका सूचना सम्प्रेषण नगर्न र आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न मुख्यमन्त्री यादवले अनुरोध गरेको छ।

