काठमाडौं । उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो तथा प्रयोगविहीन जग्गामा व्यावसायिक अम्बा खेती गर्न आह्वान गरेका छन् ।
नेपालको उर्वर भूमि बाँझो रहन नदिने र किसानलाई बजारको सुनिश्चितता प्रदान गर्ने उद्देश्यले उनले यो नयाँ अभियान सुरु गरेका हुन् ।
आफ्नो कृषि ब्रान्ड ुमाटो नेपालु मार्फत बिरुवा उपलब्ध गराउने देखि लिएर उत्पादित अम्बाको शतप्रतिशत खरिद आफैँले गरिदिने घोषणा गोल्यानले गरेका छन् ।
यस अभियान अन्तर्गत माटो नेपालले उच्च गुणस्तरीय अम्बाका बिरुवा उपलब्ध गराउने, वैज्ञानिक विधिबाट बगैंचा स्थापना गर्न र ड्रिप सिँचाइ जडान गर्न प्राविधिक सहयोग गर्ने बताएको छ ।
साथै, रोपाइँदेखि उत्पादनसम्म किसानलाई निरन्तर प्राविधिक परामर्श तथा तालिम दिइने प्रतिवद्धता समेत उनले जनाएका छन् ।
उद्योगी गोल्यानले यस खेतीबाट हुने लगानी, उत्पादन र आम्दानीको ५ वर्षे अनुमानित हिसाबकिताब पनि सार्वजनिक गरेका छन् ।
उनका अनुसार १ बिघा जग्गामा करिब १ हजार ४० वटा अम्बाका बिरुवा रोप्न सकिन्छ । पहिलो वर्ष बगैंचा स्थापना, ड्रिप सिँचाइ तथा अन्य पूर्वाधार निर्माणमा करिब ३ लाख ७९ हजार ६५० रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।
दोस्रो वर्षबाटै उत्पादन सुरु हुने र पहिलो चरणमा करिब ५ हजार किलो अम्बा उत्पादन भई २ लाख ५० हजार रुपैयाँसम्मको बिक्री हुनेछ । दोस्रो वर्षको खर्च कटाएर १ लाख १६ हजार २०० रुपैयाँ अनुमानित नाफा हुने हिसाब देखाइएको छ ।
तेस्रो वर्ष उत्पादन बढेर २० हजार किलोग्राम पुग्ने र त्यसबाट १० लाख रुपैयाँ आम्दानी हुँदा खर्च कटाएर ५ लाख ९४ हजार २ सय रुपैयाँ नाफा आर्जन गर्न सकिने गोल्यानको विश्लेषण छ ।
चौथो वर्ष ३० हजार किलो उत्पादन हुने र १५ लाख मूल्यमा बिक्री हुँदा खर्च कटाएर ८ लाख ८६ हजार ५ सय रुपैयाँ नाफा हुने अनुमान छ ।
पाँचौ वर्ष उत्पादन ५० हजार किलो पुग्ने र २५ लाख रुपैयाँ बराबरको अम्बा बिक्री हुँदा नाफा मात्रै १५ लाख रुपैयाँको हाराहारीमा हुनेछ ।
समग्रमा, १ बिघा जग्गामा अम्बा खेती गर्दा ५ वर्षभित्र कुल ५२ लाख ५० हजार रुपैयाँको अम्बा बिक्री गर्न सकिने र हरेक वर्ष थपिने लगानीसहित कुल खर्च २५ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
यसरी कुल बिक्रीबाट लगानी घटाउँदा ५ वर्षमा ३० लाख ९६ हजार ८ सय रुपैयाँ खुद नाफा हुने गोल्यानले स्पष्ट पारेका छन् ।
यो हिसाब उचित खेती व्यवस्थापन र अनुकूल मौसमको आधारमा तयार गरिएको अनुमान भएकाले वास्तविक उत्पादन र नाफामा केही फरक पर्न सक्ने उनले उल्लेख गरेका छन् ।
नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन र किसानलाई बजार खोज्दै भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न यो दीर्घकालीन आम्दानीको स्रोत बन्ने विश्वास उनले व्यक्त गरे ।
खाली जग्गा भएका र व्यावसायिक रूपमा अम्बा खेती गर्न इच्छुक व्यक्तिहरूलाई माटो नेपालमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

