वीरगन्ज । देशको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०८२/०८३ को राजस्व संकलन लक्ष्यको नजिक पुगेको छ। भन्सार कार्यालयको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ ३१ गतेसम्म) को अवधिमा लक्ष्यको ८८.८९ प्रतिशत राजस्व संकलन भइसकेको छ।
यस अवधिमा भन्सार विभागले वीरगन्ज नाकालाई २ खर्ब ४९ अर्ब १९ करोड रुपैयाँको लक्ष्य दिएकोमा २ खर्ब २१ अर्ब ५२ करोड रुपैयाँ राजस्व असुली भएको छ।
चालू आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाँकी रहँदा भन्सार कार्यालयले तोकिएको वार्षिक लक्ष्य भेटाउन अब ५१ अर्ब ८७ करोड रुपैयाँ संकलन गर्नुपर्ने देखिन्छ।
चालू आर्थिक वर्षको जेठ महिनाका लागि मात्रै २६ अर्ब २ करोड रुपैयाँ राजस्वको लक्ष्य निर्धारण गरिएको थियो। जसमा वीरगन्ज भन्सारले लक्ष्यको ८४.८८ प्रतिशत अर्थात् २२ अर्ब ८ करोड ४५ लाख रुपैयाँ संकलन गरेको प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिए।
भन्सार कार्यालयका अनुसार जेठ ३१ गते एकैदिन मात्रै ४१ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने सोही दिन कुल ४७१ वटा प्रज्ञापनपत्र जारी भएका छन्।
भन्सार क्लियरेन्सलाई छिटो र व्यवस्थित बनाउन प्रयोग गरिने ुलेन प्रणालीु ९क्ब्म् संख्या० का आधारमा हरियो लेनको हिस्सा ७ प्रतिशत रहेको छ।
हरियो लेनको प्रयोग हुनुले न्यून जोखिमयुक्त मालसामानको जाँचपास छिटो र सहज रूपमा भएको मानिन्छ। बाँकी सामानहरू भने पहेंलो र रातो लेन मार्फत विस्तृत मूल्यांकन र भौतिक परीक्षणपछि मात्र जाँचपास गरिएका छन्।
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा भन्सार विभागको कुल वार्षिक लक्ष्यमा साढे ४६ प्रतिशतभन्दा बढीको हिस्सा ओगटेको छ।
भन्सार विभागले देशैभरका भन्सार विन्दुहरूका लागि तय गरेको कुल ५ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँको वार्षिक लक्ष्यमध्ये वीरगन्ज भन्सारलाई मात्रै २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ (४६.४७ प्रतिशत) को जिम्मेवारी दिइएको छ।
जेठ मसान्तसम्म वीरगन्ज भन्सार एक्लैले गरेको कुल असुली भन्सार विभागको देशैभरिको वार्षिक केन्द्रीय लक्ष्यको ३०.९६ प्रतिशत हुन आउँछ।
त्यस्तै, जेठसम्मको ११ महिनाको समग्र देशव्यापी संकलनको अवस्थालाई हेर्दा मुलुकको कुल भन्सार राजस्वमा वीरगन्ज भन्सार कार्यालय एक्लैले ३७.६६ प्रतिशतको ठूलो योगदान दिएको छ।
एकीकृत जाँच चौकी (आइसीपी) र सुख्खा बन्दरगाह (आईसीडी) भन्सारको मर्जरपछि एकीकृत सेवा दिइरहेको वीरगन्ज नाकाबाट हुने सवारी साधन, इन्धन तथा औद्योगिक कच्चा पदार्थको आयातले देशको समग्र भन्सार राजस्व परिचालनमा सधैं निर्णायक भूमिका खेल्दै आएको छ।
आर्थिक वर्षको अन्तिम महिना असारमा तोकिएको वार्षिक लक्ष्य पूरा गर्न भन्सार प्रशासनले आफ्नो सक्रियता र गस्ती निगरानीलाई तीव्र पारेको छ।
अन्तर्राष्ट्रिय व्यापार सहज बन्ने र आयात–निर्यात प्रणालीमा सुधार आएमा बाँकी लक्ष्य पनि भेट्टाउन सकिने प्रमुख भन्सार प्रशासक मैनालीको भनाइ छ।
प्रमुख भन्सार प्रशासक मैनालीले आर्थिक गतिविधि र व्यापारको अवस्थाबारे स्पष्ट पार्दै भने, ‘अन्तर्राष्ट्रिय व्यापार बढ्नुपर्यो र आयात–निर्यात सहज हुनुपर्यो। ठूला–ठूला आयोजनाहरूका लागि आवश्यक पर्ने मेशिनरी सामानहरूको आयात बढेमा तथा भन्सार विन्दुमा लाग्ने करको नीतिगत हेरफेरले अनुकूलता सिर्जना गरेमा तोकिएको लक्ष्य भेट्टाउन सकिने सम्भावना रहन्छ।’
उनका अनुसार कहिले एमआरपी (अधिकतम खुद्रा मूल्य) को समस्या, कहिले करको दर त कहिले सवारी साधन आयातमा हुने नीतिगत फेरबदल जस्ता यावत विषयहरूमा सहजता आएमा व्यापारमा वृद्धि हुने र राजस्वको लक्ष्य पनि सजिलै पूरा हुने देखिन्छ।

