वीरगन्ज । वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जो
वीरगन्जस्थित बिपिसी (BPC) कलेजमा लैंगिक हिंसा रोकथाम सञ्जालको महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
लैंगिक हिंसा न्यूनीकरण र रोकथामका क्षेत्रमा सहकार्य गर्दै आएका विभिन्न सामाजिक संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
बैठकमा सहभागी संस्थाहरूले लैंगिक हिंसा न्यूनीकरणका लागि हालसम्म आफूहरूले गरिरहेका गतिविधिहरू र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तृत छलफल गरेका थिए।
आगामी दिनहरूमा लैंगिक हिंसा रोकथामका लागि कस्ता खालका आवश्यक रणनीति र कार्यक्रमहरू तय गर्ने भन्ने विषयमा समेत सञ्जालका सदस्यहरूबीच गहन विचारविमर्श भएको आसमान नेपालकी लैंगिक हिंसा रोकथाम अधिकृत प्रशंसा घिमिरेले जानकारी दिईन् ।
यसैगरी आगामी कार्ययोजना र आवश्यक कार्यक्रमहरूको रूपरेखाबारे प्रकाश पार्दै सशक्त महिला समृद्ध (EWPN) नेपालकी महिला उद्यमी सहजकर्ता अन्जु राना मगरले पनि बैठकमा भविष्यका योजनाहरूबारे रचनात्मक छलफल भएको बताईन् ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्यले स्थानीय स्तरमा काम गर्ने सामाजिक संघसंस्थाहरूका लागि एक महत्त्वपूर्ण सुझाव राखेकी थिईन्। उनले धेरैजसो संस्थाहरू एउटै प्रकृतिको कार्यक्रम र सीमित भौगोलिक क्षेत्र वा एउटै वडामा मात्र केन्द्रित हुने गरेको पाइएकाले, अबका दिनमा कार्यक्रमहरूलाई फरक फरक स्थान र आवश्यकताका आधारमा नयाँ क्षेत्रहरूमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरिन्।
उक्त समन्वय बैठकमा आसमान नेपाल, सशक्त महिला समृद्ध नेपाल, आफन्त नेपाल, आवर संसार, र सहयात्री समाज लगायत लैंगिक हिंसा र महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

