वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्सामा ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ।
जिल्लाको विन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ८ हजार गोटा चल्ला बरामद गरेको हो।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा बोर्डर आउट पोस्ट (बिओपी) अमरपट्टीबाट खटिएको पैदल गस्ती टोलीलाई देख्नासाथ तस्करहरू चल्ला छाडेर फरार भएका थिए।
८० वटा कार्टुनमा प्याक गरिएका ती चल्लाहरूको अनुमानित बजार मूल्य करिब ८ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन निरौलाले जानकारी दिए ।
बरामद गरिएका चल्लाहरूलाई प्रचलित कानुन तथा पशु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार आजै नष्ट गरिएको छ।
पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, सम्बन्धित ह्याचरीका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय तथा सञ्चारकर्मीहरूको रोहवरमा सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले बताए ।

