वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले वीरगन्जको प्रतिष्ठित शैक्षिक संस्था हरिखेतान बहुमुखी क्याम्पसमा विगत लामो समयदेखि देखिएको असहज अवस्था समाधानका लागि पहल सुरु गरेका छन् ।
सांसद पन्तले बिहीबार त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यसँग भेटवार्ता गरी क्याम्पसको वर्तमान गतिरोधबारे छलफल गरेका हुन्।
भेटका क्रममा निमित्त उपकुलपति प्रा.डा. बज्राचार्यले हरिखेतान क्याम्पसको विवादित विषयमा छानबिन समितिमार्फत यथाशीघ्र निकास निकाल्ने प्रतिबद्धता जनाएको छ।
उनले क्याम्पसको मूल विधान बमोजिम क्याम्पस सभा तथा व्यवस्थापन समिति गठन गरी निर्वाध रूपमा क्याम्पस सञ्चालन एवं पठनपाठनको वातावरण निर्माण गर्ने जानकारी दिएको सांसद पन्तले बताए।
लामो समयदेखिको विवादका कारण क्याम्पसको शैक्षिक वातावरण प्रभावित भइरहेका बेला जनप्रतिनिधिको तर्फबाट भएको यो पहललाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ।
हरिखेतान क्याम्पसकाे व्यावस्थापन र प्रशासनबीचकाे विवादले विद्यार्थीहरूकाे शैक्षिक भविष्य भने अन्याेलमा परेकाे छ ।

