वीरगन्ज । गौतम माध्यामिक विद्यालयले पर्साका महिला क्रिकेट टिमलाई सम्मान गरेको छ । मधेस प्रदेशको राजधानी जकपुरमा सम्पन्न शहिद लिग क्रिकेटमा विजेता बनेको पर्साको महिला क्रिकेट टिमलाई सम्मान गरेको हो ।
विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा महिला क्रिकेट टिमलाई प्रमुख अतिथि पर्सा क्रिकेट संघ (क्यान) का अध्यक्ष इञ्जिनिर मनिष सिंहले सम्मान गरेका थिए ।
त्यस्तै विजयी टोलीलाई विद्यालयका निर्देशक सोनाम लामा, प्रवन्ध निर्देशक परीक्षा पिया लामा, प्रिन्सिपल गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण, एकेडेमिक हेड रमेश शर्मा, जुनियर विंगका संयोजक सिपेन्द्र गुप्ता लगायतले पनि सम्मान पत्रले सम्मान गरेका थिए ।
सम्मानपछि शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि क्रिकेट संघ (क्यान) पर्साका अध्यक्ष सिंहले पर्सा क्रिकेट संघ (क्यान)ले भन्दापनि अगाडि सम्मान गरेकोमा गौतम माविलाई धन्यवाद दिए ।
उनले खेलक्षेत्रमा पनि भविष्य बनाउन सकिने आधारहरु तयार भएको भन्दै शिक्षा र खेलकुदलाई सँगसँगै लिएर जान विद्यार्थीहरुलाई सुझाव दिए ।
उनले पछिल्लो समय नेपालले क्रिकेटमा हासिल गरेको उपलब्धी र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरुमा धेरै नेपाली खेलाडीहरु पुगेर युवाहरुको क्रिकेटमा भविष्य छ भन्ने स्थापित गरेको बताए । एनफामा जति बजेट नभएपनि क्यानले त्यो भन्दा बढी प्रगति गरेको बताए ।

गौतम माविकी प्रबन्ध निर्देशक परीक्षा पिया लामाले सम्मान समारोहको समापन मन्तव्य व्यक्त गर्दै महिलाहरुले खेलक्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शनले गौरव महशुस गरेको बताईन् ।
महिलाहरु चुल्हा चौका र घरको काममा मात्रै सीमित हुनुपर्ने सामाजिक बाध्यतालाई पनि चिरेर अगाडि बढीरहेको अवस्थामा खेलक्षेत्रमा पनि महिलाहरुको सहभागिता बढेकोमा खुशी व्यक्त गरिन् ।
गौतम मावि एउटा महिलाकै नेतृत्वबाट ५० बर्षको यात्रामा रहेको स्मरण गर्दै उनले महिलाहरु कुनै क्षेत्रमा कमजोर नरहेको बताईन् । कार्यक्रममा क्यान मधेस प्रदेश सदस्य, क्रिकेट सेलेक्सन कमिटि, कोच लगायतलाई पनि सम्मान गरिएको थियो ।
विद्यालयका निर्देशक सोनाम लामाले गौतम माविका विद्यार्थीहरु सहभागी भएको महिलाको जिल्ला स्तरीय टिममले प्राप्त गरेको उपलब्धी प्रशंसनीय रहेको बताउदै आगामी दिनहरुमा पनि गौतम माविले महिला क्रिकेट खेलाडीहरुलाई हौसला बढाउने र प्रोत्साहन गर्दै जाने बताए ।
कार्यक्रममा प्लेयर अफ द सिरिज भएकी पर्सा महिला क्रिकेट टिमकी सिवानी साहलाई प्रोत्साहन स्वरुप पाँचहजार नगद समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका को–अर्डिनेटर सौराज प्रधानले गरेका थिए ।

