काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले इयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज सिंहदरबारमा संयुक्त उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।
नेपाल र युरोपेली सङ्घ (इयू) बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे भेट गर्ने तय भएको कुटनीतिक स्रोतले जनाएको छ ।
उक्त सामूहिक संवादमा नेपालको वर्तमान वैदेशिक नीति, विकासका प्राथमिकता र द्विपक्षीय आर्थिक तथा रणनीतिक सहकार्यका विविध आयामहरूमा गहन छलफल हुने कूटनीतिक स्रोतले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस भेटवार्ताले नेपाल र युरोपेली राष्ट्रहरूबीचको पारस्परिक हितलाई नयाँ उचाइमा पुर्याउनुका साथै बहुपक्षीय मञ्चहरूमा आपसी समन्वय बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
नेपालले पछिल्लो समय आफ्नो बाह्य कूटनीतिक सक्रियतालाई तीव्र पारेको छ। यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका आवासीय राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गर्दै नेपालको साझा वैदेशिक दृष्टिकोण र विकास साझेदारिताबारे स्पष्ट पार्नुभएको थियो। आजको यस भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप प्रगाढ बनाउने नेपालको निरन्तर कूटनीतिक प्रयासकै एक कडीका रूपमा हेरिएको छ।
