वीरगन्ज । सशस्त्र प्रहरी बलको विशेष अभियान अन्तर्गत पर्सामा आयोजित निःशुल्क आँखा शिविरबाट छनोट भएका २२ जना मोतिबिन्दुका बिरामीहरूको आँखाको सफल शल्यक्रिया गरिएको छ। शल्यक्रिया सेवा लिनेहरूमा ११३ वर्षीया एक ज्येष्ठ नागरिक महिला समेत रहेकी छिन्।
सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत नं.१३ गण हेडक्वार्टर पर्साले जेठ ८ गते वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाटस्थित श्री वविता पराजुली आधारभूत विद्यालयमा सो निस्शुल्क शिविर आयोजना गरेको थियो।
तिलगंगा आँखा अस्पताल काठमाडौं र सामुदायिक आँखा केन्द्र वीरगञ्जको प्राविधिक सहकार्यमा सञ्चालित उक्त शिविरमा परीक्षण गराएका बिरामीमध्ये मोतिबिन्दुको जटिल समस्या देखिएका ३४ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो।
सिफारिस गरिएकामध्ये हालसम्म २४ जना सम्पर्कमा आएको र तीमध्ये २२ जनाको सामुदायिक आँखा केन्द्र वीरगञ्जमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन राज निरौलाले जानकारी दिए ।
सम्पर्कमा आएका अन्य २ जनाको स्वास्थ्य परीक्षण गर्दा सुगरको मात्रा अत्यधिक देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको चिकित्सकहरूले बताएका छन्।
शिविरमा छनोट भएर पनि हालसम्म सम्पर्कमा नआएका बाँकी १० जना बिरामीहरू सम्पर्कमा आउनासाथ उनीहरूको पनि आवश्यक शल्यक्रिया प्रक्रिया अगाडि बढाइने चिकित्सक टोलीले जनाएको छ।

