वीरगन्ज । वीरगंजका विभिन्न स्थानमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा मासु पसलहरूमा गम्भीर लापरवाही भेटिएपछि जरिवाना गरिएको छ।
२०८३ वैशाख २९ गते अनुगमन टोलीले वीरगंज-१२ स्थित श्री दिलसाद फ्रेस मिट हाउसले मासुमा अखाद्य रङ्ग मिसाएको र पसलमा मूल्य सूची समेत नराखेको फेला पारेपछि उक्त पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको हो।
त्यस्तै, वीरगंज महानगरपालिका-१३ मा विना दर्ता मासु बिक्री वितरण गरिरहेका श्री अफरोज अंसारीलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा बरामद गरिएको अखाद्य मासुलाई टोलीले नियन्त्रणमा लिई तत्कालै नष्ट गरेको छ। स्थानीय प्रशासनले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र नियम विपरीत व्यवसाय सञ्चालन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
