काठमाडौं । सरकारले इजरायल, कुवेत, बहराइन र लेबनानका लागि रोकिएको पुनः श्रम स्वीकृति (Re-entry) खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३१ चैत २०८२ मा मन्त्रीस्तरीय निर्णय गर्दै उक्त देशहरूमा पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
यसअघि, मध्यपूर्वका देशहरूमा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मन्त्रालयले १७ फागुन २०८२ मा इजरायलसहित पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम स्वीकृति र पुनः श्रम स्वीकृति स्थगन गरेको थियो।
खुला गरिएका देशहरूमा इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति सुचारु गरिएको छ। इराकको हकमा इराकका लागि भने ११ पुस २०८२ मा गरिएको पूर्ववत् निर्णय बमोजिम नै श्रम स्वीकृति प्रदान गरिने वैदेशिक रोजगार विभागले जनाएको छ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा मन्त्रालयले यो निर्णय लिएको हो। हाल पुनः श्रम स्वीकृति (बिदामा आएका श्रमिकका लागि) मात्र खुला गरिएको हो। ती देशहरूको परिस्थिति पूर्ण रूपमा सामान्य नभएसम्म नयाँ श्रम स्वीकृतिको हकमा भने पुरानै निर्णय यथावत् रहने मन्त्रालयले स्पष्ट पारेको छ।
यसअघि ३ चैत २०८२ मा सरकारले साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिसकेको थियो। पछिल्लो निर्णयसँगै अब ती अधिकांश देशमा बिदामा नेपाल आएका श्रमिकहरू पुनः आफ्नो काममा फर्कन सक्ने बाटो खुलेको छ।
