काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दाहाललाई केही समयअघि १ लाख २० हजार ८ सय ५० रुपैयाँसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा उनले अस्पतालको आन्तरिक स्रोतबाट रकम भुक्तानी दिने क्रममा विभिन्न फर्मका प्रतिनिधिहरूसँग योजनाबद्ध रूपमा मोलमोलाई गरी ९३ हजार ८ सय ५० रुपैयाँ घुस लिएको तथ्य स्थापित भएको आयोगले जनाएको छ।
आयोगका अनुसार दाहालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन्छ।
सोही आधारमा उनलाई ९३ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिमको जरिवाना सजाय माग गर्दै आरोपपत्र दायर गरिएको हो।
अस्पतालको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने सर्तमा उनले गैरकानुनी लाभ लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
