काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी सो बैठक आह्वान गरिएको हो।
बैठकका मुख्य एजेन्डाहरू गोप्य राखिएका छन्। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने प्रचलन रहे पनि आज अचानक बैठक बोलाइएपछि यसलाई विशेष चासोका साथ हेरिएको छ।
यसैबीच, मन्त्रिपरिषद्को बैठकका कारण गृहमन्त्री सुधन गुरुङको रोशीखोला तथा बीपी राजमार्ग अनुगमन कार्यक्रम प्रभावित भएको छ। आज बिहानै अनुगमनमा निस्कने तयारीमा रहनुभएका गृहमन्त्री बैठकमा सहभागी हुनुपर्ने भएपछि रोकिएका हुन्। उनी बैठक सकिएलगत्तै अनुगमनमा जाने सचिवालयले जनाएको छ।
