वीरगन्ज । वीरगन्ज स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई गरिएको छ । एपेक्स म्यानेजमेण्ट कलेजको सभाकक्षमा आयोजना गरिएको बिदाई समारोहमा कक्षा १० अध्ययन पूरा गरी एसईई परीक्षक तयारीमा रहेका विद्यार्थीहरुको बिदाई गरिएको हो।
वीरगन्ज स्कुल तथा वीरगन्ज कलेजका प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज कलेजका प्रमुख विनोद गुप्ताले पानसमा बत्ती बालेर उदघाटन गरेका थिए । कार्यक्रममा वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र प्रसाद चौधरी, का सम्पादक नीरज पिठाकोटे लगायतले शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुलाई एसईईमा राम्रो नतिजा ल्याउने गरी तयारी गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यार्थीहरुलाई अध्ययन र परीक्षा दिने तरिकाको बारेमा जानकारी दिदै कलेजका प्रमुख गुप्ताले एकपटक किताब पढ्ने र कापीमा लेख्ने र याद गर्ने बानी गर्दा परीक्षामा सजिलो हुने धारणा राखे । वीरगन्ज कलेजका सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र प्रसाद चौधरीले पहिले भन्दा अहिले परीक्षामा धेरै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेपनि त्यसलाई धेरै तनाव नलिई सामान्य मानेर तयारी गर्नुपर्ने सुझाव दिए ।
परीक्षा केन्द्रमा जाँदा अनुशासित भएर प्रस्तुत हुनुृ र परीक्षा हलमा कसैले केही गलत व्यवहार गरेमा पनि त्यसको प्रतिक्रिया नजनाई आफ्नो ध्यान परीक्षामा मात्रै केन्द्रीत गर्न सुझाव दिए । वीरगन्ज स्कुलका कोअर्डिनेटर महावीर रजकले स्वागत मन्तव्य व्यत्त गरेको कार्यक्रममा विद्यालयबाट एसईईको दोस्रो समूहका १५ जना विद्यार्थीहरुलाई खादा र टिका लगाएर बिदाई गरिएको थियो ।

