कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ माननीय चोकमा मंगलबार राति एक व्यक्तिले परिवारका सदस्यमाथि साङ्घातिक आक्रमण गरेका छन् ।
स्थानीय ५५ वर्षीय हरि प्रसाद श्रेष्ठले ७५ वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । आक्रमणबाट उनकी ५० वर्षीया बहिनी भगवती देवी माझी गम्भीर घाइते भएकी छन् । टाउको र हातमा गहिरो चोट लागेकी भगवतीको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार यो घटनाको मुख्य कारण जग्गा जमिन सम्बन्धी पुरानो घरायसी विवाद रहेको देखिन्छ । लामो समयदेखि चल्दै आएको रिसिइबीका कारण श्रेष्ठले राति करिब पौने ९ बजे परिवारमाथि जाइलागेको बुझिएको छ ।
घटनालगत्तै फरार भएका श्रेष्ठको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा क्षेत्रसहित विभिन्न स्थानमा विशेष टोली परिचालन गरी अनुसन्धान तीव्र पारेको छ ।

