वीरगन्ज । उपभोक्ता हित संरक्षणका लागि राज्यका संयन्त्रहरू जिम्मेवार नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मधेस प्रदेशको उद्योग विभाग र संघीय सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयद्वारा संयुक्तरूपमा वीरगन्जमा आयोजित सरोकारवालाहरूले आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उपभोक्ताहरू सचेत नहुँदा र सरकारी अनुगमन फितलो हुँदा बजारमा मनपरी बढेको औंल्याएका हुन्।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले मधेस प्रदेश सरकार र स्थानीय तहहरू उपभोक्ताको स्वास्थ्य र अधिकारप्रति संवदेनशील नभएको आरोप लगाए । देशका सात प्रदेशमध्ये ६ वटाले उपभोक्ता ऐन ल्याइसक्दा पनि मधेस प्रदेशले अहिलेसम्म ऐन बनाउन नसक्नु विडम्बनापूर्ण रहेको उनको भनाई थियो।
जनप्रतिनिधिहरूले कमिसन आउने निर्माणका काममा मात्रै ध्यान दिएको र उपभोक्ता अधिकारलाई प्राथमिकतामा नराखेका कारण सर्वसाधारण गुणस्तरहीन वस्तु तथा सेवा उपभोग गर्न बाध्य भएको अधिकारीले बताए । अन्तर–सरकारी निकायहरूबीच समन्वयको अभावले पनि बजारमा कालोबजारी र मिसावट मौलाएको उनले जिकिर गरे ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले भने वस्तु र सेवा उपभोग गर्ने हरेक व्यक्ति उपभोक्ता भएकोले सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए । उपभोक्ताहरू आफैं पनि सचेत र सजग हुनुपर्ने बताउँदै उनले अधिकार मात्र खोज्ने नभई कर्तव्य पनि बिर्सन नहुने धारणा राखे ।
पहुँचवाला व्यक्तिहरूले उपभोक्ता अधिकारका सवालमा मौन बस्ने र कमजोर पक्षले मात्र आवाज उठाउँदा समस्या समाधान हुन नसकेको पोखरेलको विश्लेषण थियो। अहिले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखिनु र अखाद्य वस्तुहरूको खुलेआम बिक्री हुनुमा सरकारी अनुगमनको कमजोरी मुख्य कारण रहेको उपभोक्ताहरूको गुनासो छ।
संघीय सरकारका निकायहरू मात्र नभई जनताको नजिक रहेका स्थानीय र प्रदेश सरकारले समेत बजार नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको कार्यक्रममा सहभागीहरूले बताएका छन्। उपभोक्ता अधिकारको सुनिश्चितताका लागि ‘मन, वचन र कर्म’ ले सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता कार्यक्रमले औंल्याएको छ।
उद्योग विभाग मधेस प्रदेशका महानिर्देशक सुशील साहको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, पर्साका प्रहरी नायव उपरीक्षक राजु कार्की, जगरनाथपुर गाउँपालिकाकी उपप्रमुख बबिता सिंह, धोबिनी गाउँपालिकाकी प्रमुख मञ्जुदेवी, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल झा, ठोरी गाउँपालिकाका सामाजिक विकास अधिकृत धर्मराज थापा,
वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनुज रुंगटा, उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेल, पर्सा अध्यक्ष सुनिल श्रेष्ठ लगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपभोत्ता अधिकार र विद्यमान कानूनको विषयमा वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनील चौरसियाले प्रस्तु गरेका थिए । कार्यक्रमको सहजीकरण पनि चौरसियाले नै गरेका थिए ।
