वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.–१४ स्थित गण्डक चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।
वीरगञ्ज बसपार्कबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज २७६५ नम्बरको टाटा सुमोलाई रोकेर खानतलासी गर्दा गाडीको छतमा त्रिपालले ढाकेर लुकाइएको अवस्थामा ५२ हजार ३ सय ट्याब्लेट प्रतिबन्धित ट्रामडोल हाइड्रोक्लोराइड क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जेब्रा झोला र बोराभित्र लुकाइछिपाइ राखिएको उक्त औषधि बरामद गरिएसँगै अवैध ओसारपसारमा संलग्न दुई व्यक्तिलाई समेत स्थलगत रूपमै पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा बाराको परवानीपुर गाउँपालिका वडा नं. १ बस्ने ४२ वर्षीय राम अशिष राउत अहिर र पर्साको बहुदरमाई नगरपालिका वडा नं. २ बस्ने ३० वर्षीय सुवास सर्राफ रहेका छन्।
पक्राउ परेका दुवै जनामाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । प्रहरीले उनीहरूलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
