काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ।पार्टीले संविधानले तोकेको समावेशी सिद्धान्त र क्लस्टर अनुसार विभिन्न समूहबाट १६ जना सांसदहरूको चयन गरेको हो।
सचिवालयले गरेको निर्णय अनुसार जनजाति समूहबाट चार जना चयन भएका छन्। जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सांसद बनाउने निर्णय भएको छ।
त्यस्तै खस आर्य समूहबाट सबैभन्दा धेरै पाँच जनाको नाम तय गरिएको छ। यस समूहबाट महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल चयन भएका छन्। पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेलको नाम टुंगो लागेको छ।
मधेसी क्लस्टरबाट तीन जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। जसमा महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव छानिएका छन् भने पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बन्ने भएका छन्। दलित समूहबाट महिलातर्फ विष्णुमाया वी।के। र नीता घटानीको चयन भएको छ।
यसैगरी थारु कोटाबाट पुरुषतर्फ कृपाराम राणा र मुस्लिम क्लस्टरबाट महिलातर्फ साजिदा सिद्दीकीको नाम अनुमोदन भएको छ। पार्टीले यी नामहरू निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ। नवनिर्वाचित सबै सांसदहरूलाई एमालेले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।

